कास्की, ८ पुस । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा २३ स्थित कार्कीको तहरामा रहेको यो सहकारीमा करिब तीन करोड अपचलन भएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बचतकर्ताको रकम हिनामिना भएकाले अनुसन्धान गरिदिन सहकारी रजिष्ट्रार कार्यालयले आइतबार प्रहरीलाई अनुरोध गरेको थियो ।
प्रहरीले सहकारीका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ घर भई पोखरा–८, नयाँबजार बस्ने वर्ष ३३ का विक्रम पाण्डे र सोही सहकारीका सचिव पोखरा–३१, बेगनास घर भएका वर्ष ३४ का कमल सुवेदीलाई पक्राउ गरेको हो । उनीहरुलाई सोमबार जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धानअघि बढाएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
सङ्घर्षशीलका निक्षेपकर्ताको बचत फिर्ता नगरी हिनामिना भएको भन्दै सहकारी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । यसैबिच, पीडित बचतकर्तालाई उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार अपिल गरेको छ । कास्कीमा अहिले सात सहकारीका मुद्दा अदालतमा विचाराधीन छ ।
सोमबार सूचना निकालेर प्रहरीले ठगिएका बचतकर्तालाई पुस २० गतेभित्र उजुरी दिन भनेको छ । सूचनामा भनिएको छ, “सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतका प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्तामा सूचित गरिएको छ ।”