लुम्बिनी, ११ भदौ । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन् ।
नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताएकी हुन् ।
पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरेकी थिइन् । उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताइन् ।
उनले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राखेकी थिइन् । “सर्वसम्मत भनेको सहमति र समझदारी हो”, उनले भन्नि, “सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।”







