काठमाडौँ, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिए ।
उनले जनताको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराए । आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गरेका छन् ।







