काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय कानुन नबन्दा स्थानीय तहले पूर्णरुपमा काम गर्न नसकेको बताएका छन् ।
नेपाल महिला सङ्घकी संस्थापक स्वर्गीय मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले तीन तहको सरकारलाई सुचारुरुपमा सञ्चालन गर्न आवश्यक सङ्घीय कानुन बनाउन नसकेको बताएका हुन् ।
“सङ्घले आवश्यक कानुन निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाही अघि बढाउन सक्छन्,” उनले भने । पछिल्लो सयम युवा देश छोडेर पलायन भइरहेकाले सरकारले उनीहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण बनाउनुपर्ने नेता सिंहको भनाइ थियो ।
कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषी देश भएकाले कानुनभित्र बसेर सबै समस्याको समाधान गर्नुपर्ने बताए । एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।







