Logo

सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकियो: मोदी



काठमाडौँ, २५ जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन् ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री मोदीले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिए ।

उनले ऐनलाई अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको र ती मन्त्रालयबाट सहमति आउन बाँकी रहेको उल्लेख गरेका थिए ।

उनले भने, ‘सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकेर अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाएका छौँ । कानुन र अर्थको सहमति आउन बाँकी छ ।’

मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको पनि बताए । उनले बेरुजु नियन्त्रणका लागि पालिकालाई मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आउँदो बजेटमा जनजाति, मधेसी, दलित, पिछडिएका क्षेत्रका जेहेनदार विद्यार्थीलाई लोक सेवा नि:शुल्क पढाउने व्यवस्था मिलाएको बताए ।

मन्त्री मोदीले पालिका प्रमुखहरू विदेश भ्रमणका जाने कुरामा पनि कडाइ गरेको बताए । आफूखुसी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपुर्‍याइकन जान नदिएको उनले बताएका हुन् । सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्