काठमाडौँ, १ माघ । चीनले झन्डै तीन वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय गरे पनि नेपालका स्थल नाकाहरूबाट अझैसम्म चीनतर्फ प्रवेश नदिइएको अधिकारीहरूले बताएका छन् ।
कोभिड महामारीपछि सन् २०२० को मार्चबाट बन्द गरिएका सीमा खोल्ने निर्णय गरेको चीनले नेपालका व्यापारिक नाकाहरूबाट भने आवतजावतमा बन्देज कायमै राखेको छ ।
चीनसँग व्यापार हुने रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अझैसम्म आवतजावत खुला नभएको अधिकारीहरूले बताए ।
मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का लगायत चीनसँगका अन्य सीमा नाकाहरू कोभिडपछि अझैसम्म बन्द नै छन् ।






