Logo

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा



काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।

उनले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए । अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उनको भनाइ छ ।

“अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्विन्टल सुन थाहा नपाइकन उहाँहरुको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्‍यो,” उनले भने, “उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा । तर, नैतिकताका हिसाबले देशमा यत्रो क्विन्टल क्विन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरूले राजीनामा दिनुपर्छ की पर्दैन?”

अनियमितताको कुरामा पक्ष, विपक्षको पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्