Logo

सत्तारुढ गठबन्धनमा समस्या छैन्: भट्ट



कैलाली, ४ फागुन । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सत्तारुढ गठबन्धन अहिले समस्या नरहेको भन्दै गठबन्धन कायम रहने बताएका छन् ।

बिहीवार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन् ।

भट्टले राष्ट्रपतिको विषयले गठबन्धनमा समस्या नरहेको र एमाले नेतृत्वको गठबन्धन कायम रहने दाबी गरेका थिए ।

यस्तै उनले सबै गठबन्धनका दलहरूको सहमतिअनुरूप नै राष्ट्रपति चयन हुने पनि बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनका वेला भएको सहमतिअनुसार नै राष्ट्रपति चयन हुने उनले जिकिर गरेका छन् ।

‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ? भन्ने आमचासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ’, भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुने गरी उपयुक्त उम्मेदवार उठाउँछ। गठबन्धन कायम रहन्छ ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने जनाए। राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्