Logo

सत्तारूढ गठबन्धनले सरकार छोड्नुपर्छ: अध्यक्ष ओली



काठमाडौँ, ६ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले सरकार छोड्नुपर्ने बताएका छन् ।

देशलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारूढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको जिकिर थियो ।

बुधवार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सरकारले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी दिए । उनले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी पनि गरेका थिए ।

ओलीले भने, ‘अहिलेको सरकारले देशलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने काम गरेको छ । त्यो नालायकी स्वीकार्य हुन सक्दैन, कि उपयुक्त ढङ्गले सरकार चलाउनुपर्छ । होइन भने सरकार छोड्नुपर्छ । वास्तवमा देश अप्ठेरो स्थितिमा छ । यो अवस्थामा पुर्‍याउने यही गठबन्धन सरकार हो । यो गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन ।’

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनको सत्ता स्वार्थका कारण देशको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको दाबी गरेका थिए । वर्तमान सरकारले देशको असंलग्नता र तटस्थतासम्बन्धी परराष्ट्र नीति पनि धरापमा पारेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्