काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई अझ बलियो बनाउनुपर्ने बताएका छन् । त्यस्का लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत साथमा लिएर सरकार बनाउनुपर्ने उनको धारणा छ ।
आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत महामन्त्री शर्माले ‘एक्लो बहुमत’ बसैको पनि नरहेको उल्लेख गर्दै पाँच वर्ष सरकार टिकाउन रास्वपालाई लिएर सरकार निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले सत्ता गठबन्धनका दलबीच नेपाली कांग्रेस २ वर्ष, माओवादी २ वर्ष र नेकपा एकीकृत समाजवादी १ वर्ष प्रधानमन्त्री हुने गरी गरेको समझदारीको समर्थन गरेका छन् ।
‘हामी कसैसँग बहुमत छैन । गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ । त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरौँ,’ शर्माले भनेका छन्, ‘२/२/१ मा परिपक्वता छ । तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ । गठबन्धन टुट्नुहुन्न । रास्वपा गाँसेर जानु तर्कपुर्ण छ ।’
उनले संसद ५ वर्ष टिकाउन साझा अपनत्व अपनाउनुपर्ने उल्लेख गर्दै रुपान्तरण अनुभूति हुने सुशासनको सूत्रबद्ध योजना र सत्तामा अनुभवी र नयाँको संयोजनका साथ राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्पीरिट हुनुपर्ने बताएका छन् ।
हाल सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।







