काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते भएकाले उक्त समयसम्म अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
“यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ”, उनले भने, “पुस १० गते जे सहमति भएको थियो । त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।” उनले अहिले सत्तारुढ दलको गठबन्धन नटुटेको समेत बताए ।







