काठमाडौँ, २६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका छन् ।
सोमबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई धम्काउँदै, तर्साउँदै हिँडिरहेकाले गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका हुन् । उनले गठबन्धन धोत्रो पसेको रुखजस्तै भएको र छिटै ढल्ने टिप्पणी गरेका छन् ।
अहिले मुलुकमा राष्ट्रियताको रक्षा गर्ने एमाले एकातिर र मुद्दा जित्दै सरकारमा बसेर मुलुक बिगार्नेहरू अर्कोतर्फ भएकाले जनताले उचित फैसला गर्ने उनको भनाइ छ ।
कुनै उद्देश्य नभएका दलहरूको गठबन्धनको ध्येय देश बनाउने मजबुद पार्टी एमालेलाई कमजोर बनाउनु मात्र रहेको उनको जिकिर थियो । आफ्नो पार्टीले निर्वाचन जिते युवालाई मलेसिया पठाउने र नजिते बजेट रोक्ने धम्कीले कांग्रेसको नीति स्पष्ट भएको उनले बताए ।
अध्यक्ष ओलीले देशको राष्ट्रिय हितका लागि बनेको पार्टी एमाले नै भएको भन्दै जनताले एमालेलाई विश्वास गर्नुपर्नेमा जोड दिए ।