कैलाली, ५ फागुन । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन् ।
आज कैलालीमा पार्टी कार्यक्रममा सहभागी अर्थमन्त्री पौडेलले सात दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन् ।
उनले राष्ट्रपति र उपराष्ट्रपति लगायतका विषय पूर्व सहमति अनुसार टुंगो लाग्नेसमेत दाबी गरे । अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रुपमा अगाडि बढाउँदै संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ । हल्ला एकातिर चल्छ घटनाक्रम अर्कोतिर चल्छ । हल्लामा विश्वास नगर्नका लागि अनुरोध गर्दछ । यो नीतिगत र कार्यक्रमगत रुपमा सहयात्रा बनिरहेको छ। यो काँचो धागोमा अडिएको सहयात्रा होइन । यो सहयात्रा पाँच वर्ष चल्छ । राष्ट्रपति र उपराष्ट्रपति लगायतमा भएको पूर्वसहमति अनुसार कार्यान्वयन हुन्छ । राष्ट्रका सबै दलहरु मिल्ने विषय राम्रो कुरा हो,’ उनले भने ।







