Logo

‘सत्ता समीकरणमा फेरबदल ल्याउन रवि लामिछानेमाथि मुद्दा हालियो’



काठमाडौँ, १५ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन् ।

आइतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका हुन् ।

महासचिव पोखरेलले लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने जिकिर गरे । उनले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरूका कारण नबिथोलिने भन्दै समस्याहरूको समाधान गरिने बताए ।

उनले भने, ‘नेपालको सन्दर्भमा भन्ने हो भने पीआर लिएर विदेशमा बसेकाहरू फर्केर आउँदा स्वतः नेपाली नागरिक भएका छन् । कसैले प्रश्न उठाएको छ र? पीआर लिएका व्यक्तिहरूले पीआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको सुन्नुभएको छ ? तर रवि लामिछानेको हकमा यसलाई विषय बनाइयो । सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर यसले उनीहरूले सोचेजस्तो काम गर्दैन ।’

महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी गरे । उनले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरूको निरूपण गर्न उदासीन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरूको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने उनले बताए ।

उनले प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसद्ले लेखेको पत्रका बारेमा सर्वोच्चले देखाएको सक्रियता भने अस्वाभाविक रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्