Logo

सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री र कांग्रेसको छलफल सकारात्मक 

हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ : नेता लेखक



 

फाइल फोटो

काठमाडौँ, ३० वैशाख । सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ ।

छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताउनु भएको हो ।

छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लेखकले भन्नुभयो ‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुन्थ्यो ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवरोध जारी राखेपछि प्रधानमन्त्री प्रचण्डले वार्ताका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई बोलाउनुभएको हो ।

यही जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने तयारी गरेको छ। तर कांग्रेस आफ्नो अडानमै रहेकाले प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि पहल थाल्नु भएको छ ।

गत शुक्रबार ९वैशाख २८ गते० कांग्रेसले दुई चरण गरेर बसेको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेपछि स्थगन भएको थियो।

शनिबार बिहानै सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेर सरकार नै संसद् नचलाउने मनशायमा रहेको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्