Logo

सन्तुलित ढङ्गबाट सिट बाडफाँट गर्नुपर्छ: नेपाल



काठमाडौँ, १६ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए त्यो स्वीकार्य नहुने बताएका छन् ।

युवा सङ्घ नेपालले बुधबारदेखि आयोजना गरेको मेची-महाकाली जागरण अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर आफ्नो पार्टी कसैका लागि भ¥याङ मात्र नहुने बताए । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले सन्तुलित तथा न्यायोचित ढङ्गबाट सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्नेमा जोड दिँदै मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरूले लाखौँ मत गुमाएको बताए । आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ-आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा जान निर्देशन दिँदै उनले भने, “यो काठमाडौँमा पलेँटी कसेर बस्ने काम नगर्नुहोस्, आ-आफ्नो जिल्ला जानुहोस्, आ-आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।”

प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभए पनि समानुपातिकमा पार्टीका पक्षमा मतदातालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्