काठमाडौं, २० मंसिर । लेगस्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनका कारण विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट १ सय ४८ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो।
सुदूरपश्चिमका लागि आशिफ शेखले सर्वाधिक ४५ रनको अविजित पारी खेले। ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरेका आशिफले अन्त्यसम्म टिक्दै टोलीलाई मध्यम लक्ष्य बनाउन मद्दत गरे। इसान पाण्डेले ३५ बलमा २ चौका र २ छक्का सहयोगमा ३८ रन जोडे। उनी सन्दीप लामिछानेको बलमा मर्चेन्ट डि लाङगेको क्याचमा परे।
जस ब्राउनले २५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडे तर उनी पनि सन्दीपकै बलमा क्याच आउट भए। ओपनर विनोद भण्डारी १५ रनमा बसिर अहमदको बलमा बोल्ड आउट भए। हरमित सिंह गोल्डेन डकमा पवेलियन फर्किंदा दिपक बोहरा ३ रनमा प्रतिश जिसीको बलमा बोल्ड भए।
विराटनगरका लागि सन्दीप लामिछाने सबैभन्दा प्रभावशाली रहे। उनले ४ ओभरमा मात्र २० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। प्रतिश जिसीले २ विकेट झारे भने बसिर अहमदले १ विकेट हात पारे।







