
सुनसरी, २९ असार । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ ।
आज बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिए ।
उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ ।
ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताए । ट्रकलाई भने नदीले बगाएको छ ।







