
सुनसरी, २९ साउन । कोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।
सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
उनका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ ।
सोमबार बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।
कोशी ब्यारेजमा अहिले आवतजावत बन्द गरिएको छ । त्यस आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।







