Logo

सप्तकोसीमा पानीको सतह घट्यो



उदयपुर, १९ साउन । सप्तकोसी नदीमा पानीको सतह केही कम भएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अस्ति राति र हिजोको तुलनामा आज पानी केही कम भएको छ । बुधबार बिहान सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन् ।

सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय घरपरिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको तर धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिए ।

उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाइएको पनि उनको भनाइ छ । सुरक्षित ठाउँमा राखिएका नागरिक तत्काल पुरानो ठाउँमा फर्कन सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्