सप्तरी, ४ भदौ । सप्तरी जिल्लामा एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाको मृत्यु भएको छ भने साउन यता मात्र पाँच जनाको मृत्यु भएको छ । लापरबाहीका कारण करेन्ट लाग्ने गरेको प्रहरीले जनाएको छ ।
सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादवले शुक्रबार चलिरहेको पङ्खा छुँदा करेन्ट लागेको थियो । । उनको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिए पनि चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे ।
करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् । कञ्चनरूप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो ।
यसैगरी सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुखी साहका छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत साउन १७ गते करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो । खडक नगरपालिका–११ लालपुरमा साउन ९ गते खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खङ्ग मण्डलको ज्यान गयो ।
लापरबाहीकै कारण सप्तरीमा गत एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । यो वर्षको सुरुआतमै पाँच जनाको करेन्ट लागेर मृत्यु भइसकेको सप्तरी प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ को तथ्याङक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । ज्यान गुमाउनेमा चार महिला, छ पुरुष र दुई बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको छ । घाइते हुनेमा १२ महिला, आठ पुरुष र छ बालक थिए ।
ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष छ । सावधानीपूर्वक बिजुलीको प्रयोग गर्न, बिग्रेका विद्युत् उपकरणको समयमै मर्मत गरेर उपयोग गर्न र गैरकानूनी तरिकाले बिजुलीको दुरूपयोग नगर्न सप्तरी प्रहरीले अपिल गरेको छ ।






