Logo

सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो: गृहमन्त्री



काठमाडौँ, १३ भदौ । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताएका छन् ।

राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा उनले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको स्पष्ट गरेका छन् ।

गृहमन्त्री खाणले भने, “विधेयलाई अनुमोदन गर्ने सन्दर्भमा प्रतिपक्ष मौन रहेर सहमति जनाएको थियो, विधेयक सबैको साथ र सहयोगमा अघि बढाइएको हो ।”

आमा र बाबु नेपाली भएर पनि नागरिकता पाउन नसकेर लाखौँ सन्ताति प्रताडित भएको घटना सुनाउँदै उनले संविधानको प्रतिज्ञा र प्रतिबद्धताअनुसार अनागरिक बनेकाको माग सम्बोधन गर्न लामो प्रयास भए पनि नसकिएको स्वीकार गरेका छन् ।

गृहमन्त्री खाणले राष्ट्रपतिको सन्देशमा पनि कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्तिबाट वञ्चित हुनहुन्न भन्नेमा केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्