
काभ्रेपलाञ्चोक, २४ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ-आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को ४१औँ व्यवस्थापन गोष्ठीको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा आज आयोजित उद्घाटन गर्दै मन्त्री राईले सबैले आ-आफ्नो जिम्मवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिनेमा जोड दिए ।
उनले नीति-निर्माण र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्ने हो भने कर्मचारी सङघ सङ्गठनले मन्त्रीलाई ‘पख्लास्’ भनिहरनुपर्ने अवस्था नआउने बताएका हुन् ।
आफ्नो क्षमता विस्तार गर्दै इमान्दारिता र सक्रियतापूर्वक राष्ट्र सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिए । मन्त्री राईले सरकारले मुलुकको आर्थिक समृद्धिसँगै पुँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताएका छन् ।
मन्त्री राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएको दाबी गरेका थिए । उनले पुन: प्रश्न गरे, “परिषद्ले सम्बन्धन बाँड्ने होइन, तर कसरी बाँड्यो? १६ वर्षदेखि पैसा तिरेर कुरेर बसेकाले सम्बन्धन किन पाएनन् त? सेवाग्राहीलाई दिने न्याय यही हो?” यसअघि बनाइएका कार्यदलले गरेका कामलाई अध्ययन गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।







