Logo

सबै तहका उम्मेदवार छनोट गर्न प्रत्यक्ष मतदान गरौँ: महामन्त्री थापा



काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै तहका उम्मेदवार छनोट गर्दा प्रत्यक्ष मतदान गर्ने प्रस्ताव गरेका छन् ।

सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार सांगठनिक प्रस्ताव पेस गर्दै थापाले अहिलेको विधि प्रक्रियालाई परिवर्तन गरेर क्रियाशील सदस्यको मतदानबाटै उम्मेदवार चयन गर्नुपर्ने बताएका हुन् ।

“पार्टीको विधानले तल्लो तहका कार्य समितिहरूबाट प्रारम्भिक सिफारिस र रायसहित निर्णय गर्ने तहमा पुर्‍याउने अनि निर्णय गर्ने निकायले विधानले तोके बमोजिमको समिति बनाएर उम्मेदवार चयन गर्ने व्यवस्था गरेको छ । अब यही व्यवस्था र अभ्यासलाई निरन्तरता दिने?,” उनले प्रस्ताव गरेका छन्, “सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदान (प्राइमरी इलेक्सन) बाट उमेदवार छनोट गर्ने ।”

उनले संसदीय उम्मेदवार छनोट गर्दा पनि सम्बन्धित क्षेत्रका पार्टीका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट टुंग्याउन प्रस्ताव गरेका छन् । थापाले योबाहेक सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूले मतदान गरेर बढी मत ल्याउने एक महिलासहित तीन जना छनोट गरी निर्णय गर्ने तहमा पठाउने प्रस्ताव पनि गरेका छन् । उनले यसरी पठाउँदा तीन जनाभन्दा बढीको नाम सिफारिस नै गर्न नपाउने पनि उल्लेख गरेका छन् ।

त्यस्तै, निर्णय गर्ने निकायले सम्बन्धित क्षेत्रबाट सिफारिस भएका तीन जना मध्ये एक जना चयन गर्ने र सिफारिस भएका तीन जना भन्दा बाहिरबाट उम्मेदवार बनाउन नपाउने व्यवस्था गर्न पनि उनले प्रस्ताव गरेका छन् । थापाले पार्टीबाट समानुपातिकतर्फका उम्मेदवार छनोट गर्दा निश्चित मापदण्ड नै बनाउन प्रस्ताव गरेका छन् ।

“पार्टीले समानुपातिकको सूची बनाउँदा सम्बन्धित क्लस्टरमा पनि विगतमा अवसर नपाएका समुदाय, क्षेत्र र क्लस्टरलाई प्राथमिकता दिने,” उनले प्रस्तावमा उल्लेख गरेका छन्,“पार्टीले लोकप्रिय र सक्षम उमेदवार पत्ता लगाउन सर्भेलगायत अन्य विधि र प्रक्रिया अबलम्बन गरी निश्चित मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने ।”

प्रतिक्रिया दिनुहोस्