काठमाडौँ २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
१७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ-संस्थाद्वारा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्यको व्यावहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘जातीय भेदभाव तथा छुवाछुत भनेको घृणित, सामाजिक रूपमा अनैतिक, अमानवीय, कानुनी रूपमा गम्भीर अपराधपूर्ण कार्य हो, यसको अन्त्यसँगै सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो ।’ नेपाली कांग्रेसका सभापति देउवाले सबै प्रकारका विभेदको आ-आफ्नो ठाउँबाट प्रतिवाद गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गरी समृद्ध समाज र देश निर्माणको निम्ति राष्ट्रिय अभियानमा सहभागी हुन अपिल गरेका छन् ।
विसं २०५८ मा छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना, २०६३ सालमा छुवाछूत मुक्त देश घोषणा र दलित समुदायको संवैधानिक हकको सुनिश्चितताको स्मरण गर्दै उनले दलित समुदायको आन्दोलनले नीति निर्माणमा सरकारलाई बल पुगेको बताए ।