Logo

सबै प्रदेशमा हल्का वर्षाको सम्भावना, आजदेखि मौसममा सुधार हुँदै जाने

राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा



काठमाडौँ,  १३ असोज । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै  उत्तर पूर्वी अरब सागर देखि उत्तर पश्चिम बिहार सम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसोदेखि वर्षाको मात्रा कम हुँदै जाने र बेलुका निकै घट्ने सम्भावना छ।

महाशाखाले भनेको छ, ‘आइतबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मात्र मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।’

त्यस्तै आज राती  देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा

राजधानीमा हालसम्मकै भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी (२३९.७ मिलिमिटर) वर्षा मापन भएको छ । यसअघि विसं २०५९ साउनमा १७७ मिलिमिटर वर्षा मापन भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकको खोपासी र पनौतीमा २८१.८ मिलिमिटर वर्षा मापन भएको झाले जानकारी दिनुभयो । यसै गरी बागमती प्रदेशपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशको पाल्पाको अर्चलेमा २४४.२ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी गण्डकी प्रदेशको तनहुँ विमलनगरमा २१०.२, कोशी प्रदेशको धनकुटामा २०९, मधेश प्रदेशको बारा कोल्बीमा २०२, कर्णालीको सुर्खेतमा ४९.५ र   कैलालीमा ४२ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्