काठमाडौँ, १३ जेष्ठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौँ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
आफ्नो जितलाई विजयका रुपमा नभएर काम र नेतृत्वको सुरुवातका रुपमा लिएको भन्दै उनले अब सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
राष्ट्रिय सभा गृहमा महानगरको अन्तिम मत परिणाम घोषणा कार्यक्रममा नवनिर्वाचित मेयर साहले अबका दिनमा भिजन र एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।
काठमाडौँलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने उनको घोषणा छ । साहले काठमाडौँलाई एउटै परिवार ठानेर काम गर्ने पनि बताएका छन् ।