काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुई ध्रुवमा बाडिएको बताएका छन् ।
बीपी युथ सर्कलले बुधबार काभ्रेको धुलिखेलमा आयोजना गरेको युवाहरूको विचार सम्मेलन कार्यक्रममा बोल्दै उनले सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टी कसरी चल्छ भन्दै प्रश्न गरेका थिए ।
“सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाडिनुभएको छ । अनि पार्टी चल्छ कसरी? यो सोचेका छौँ ?,” उनले भने ।
बीपी कोइरालाको समयमा पार्टी सभापति सिस्टममा चल्ने गरेको भन्दै नेता कोइरालाले सभापति प्रणाली हो भने पार्टी त्यसरी नै चल्नुपर्ने र बहुपदीय सिस्टममा पार्टी चल्ने भए त्यसरी नै चल्नुपर्ने बताए । अहिले पार्टीभित्र सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टीमा विग्रह आएको उनले बताए ।
“सभापति प्रणाली हो भने त्यो हिसाबले हिँड्नुपर्यो । नभए अर्कै कुनै उपाय खोज्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । अहिले बहुपदीय भनिएको छ । बहुपदीयलाई खराब त भन्दिनँ, तर मिलेको छैन । यसले हामीलाई बिगारेको छ,” उनले भने ।







