काठमाडौँ, ७ माघ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक जारी रहेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बैठक बसिरहेको हो ।
बैठकमा अबको प्रतिनिधि सभा बैठक सञ्चालनलगायतका विषयमा छलफल केन्द्रित छ । सभामुखमा घिमिरे निर्वाचित भएपछिको यो पहिलो सर्वदलीय बैठक हो ।
यसैबीच प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदैछ । उपसभामुख चयनका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र विपक्षीबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।







