काठमाडौँ, १२ असार । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए ।
“दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ । यही सदनबाट पास गर्नुपर्छ । आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ,” उनले भने, “प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो । संसद्लाई जीवन्त बनाउने संकल्प हामीले लिएका छौँ ।”
उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए । “कानुन निर्माण गर्ने मात्र होइन, गुणस्तरीय कानुन बनाउनु पनि हाम्रो दायित्व हो,” सभामुख सापकोटाले भने, “हाम्रो कुनै स्वार्थ छैन, मात्र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने हो ।”







