काठमाडौँ, ४ पुस । नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापाले सरकारले समयमा सक्ने भनेर सुरु गरेका विकासका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा सांसद थापाले यस्तो बताएका हुन् ।
उनले सुरुङ निर्माणका लागि विस्फोटक पदार्थको कुरा राजनीतिक रूपबाट नटुङ्गिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए । उनले खोकनाको फास्ट ट्र्याक टुङ्ग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘सबै काम नेपाल सरकारले नै गर्छ । सरकारले समयमा गर्छु भनेर सुरु गरेको विकासका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय भनेको ऊ आफैँ नै हो । विस्फोटक पदार्थको कुरा राजनीतिक रूपले नटुङ्गिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन । खोकनाको फास्ट ट्र्याक टुङ्ग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।’
फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको शेयर खरिद-बिक्रीबारे प्रतिनिधिसभाका अन्य समितिले गरेको छलफललाई लिएर दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक सभामुखसमझ उठाउनुपर्ने बताए ।
उनले भने, ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले हाम्रो सभापतिलाई सरकारी सुन्डसमुन्ड भन्नुभयो । उहाँले भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर यो बैठक राखेको भन्नुभयो । यो समितिको विषय हो कि होइन । समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो । यो संसद्को गरिमासँग जोडिने कुरा हो । यो विषय हल्का रूपमा नलिन र सभामुखसमक्ष गम्भीररुपमा उठाउन आग्रह गर्दछु । सबैको आफ्नो मान, मर्यादा हुन्छ ।’







