काठमाडौँ, २३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायमा भौतिक तथा वित्तीय प्रगति हुन नसक्नुका कारण तत्काल पहिचान गरी समाधान गर्नुपर्ने बताएकी छन् ।
त्यस्तै उनले समस्याका सूची बनाएर समाधान गर्दै जान निर्देशन दिइन् ।
मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्रालय र मातहत निकायको लक्ष्य हासिलमा भइरहेको ढिलाइको कारण पहिचान गरी अवगत गराउन निर्देशन दिएकी हुन् ।
“हामीले अब समीक्षा बैठकमा प्रगति गर्न सकेनौँ भनेर मात्रै हुँदैन, के कति कारणले प्रगति गर्न सकेनौँ भनेर समस्याको पहिचान गर्नुपर्छ”, उनले भन्नि, “हाम्रो मन्त्रालयको आन्तरिक कारणले नभएका के-के हुन्? हामीले गर्न नसकेका काम के-के हुन्? हाम्रो समन्वय नभएर अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहयोग नगरेका विषय के-के हुन्? यस्तै समग्र हिजोका सरकार, हिजोका दायित्वलगायतका नभएका काम के-के हुन्?” यसको पहिचान गरी काम गर्न मन्त्री शर्माले निर्देशन दिइन् ।
उनले अघिल्लोपटकका सरकारले सिर्जना गरेको दायित्वसमेत फछ्र्योट गर्न नसकेको अवस्थामा नयाँ कार्यक्रम सञ्चालन गर्न भएका समस्याबारे समेत समीक्षा हुनुपर्ने बताइन् । अब सूचना प्रविधिको क्षेत्रमा प्रवेश नगरी देशमा डिजिटल अर्थतन्त्रको विकास नहुने र समृद्धिको बाटो नखुल्ने उनको भनाइ छ ।
मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा २६ दशमलव २२ प्रतिशत चालु खर्च र दुई दशमलव ७८ प्रतिशत पुँजीगत खर्च भएको छ । आव २०८०/८१ को बजेट वक्तव्य र बजेट कार्यान्वयनका उपलब्धिमध्ये असोज महिनासम्म ३२ वटा उपलब्धि सम्पन्न हुनुपर्ने भएता पनि चारवटा मात्र सम्पन्न भएको छ । मन्त्रालयका अनुसार ३१ वटा काम चालु रहेको छ भने ११ वटा सुरु नै भएको छैन । मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा रु चार अर्ब ५४ करोड एक लाख बजेट विनियोजित छ ।







