काठमाडौं, ४ जेठ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज पहिलो चरणमा तीन सहकारीका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारी का २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारी का १ सय ५६ र पशुपति सहकारी का ७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
समितिका अनुसार पहिलो दिन कम रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखिएको हो । अब भने बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्ताको रकम पनि फिर्ता गरिनेछ ।
हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको जनाइएको छ । पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना र त्यसभन्दा बढी बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले सहकारीको ऋण असुली प्रक्रिया पनि तीव्र बनाइएको बताएकी छन् । समितिका अनुसार ऋणीहरूको विवरण सार्वजनिक गरिएपछि ऋण फिर्ता गर्ने क्रम बढेको छ र हालसम्म २ करोड रुपैयाँभन्दा बढी रकम असुल भएको छ ।
समितिले ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने जनाएको छ ।







