धनगढी, ८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।
चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘कहीँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौँ ।’
यद्यपि ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।
‘जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौँ,’ उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसात गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौँ।’
‘समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौँ । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन। प्राथमिताकता तालमेलमा हो,’ उनले भने, ‘तर, समस्या कहिँकतै पर्यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो ।
उनले गठबन्धन अब चुनावी तयारीमा होमिएको बताए । केही समय अघिसम्म चुनाव सार्ने हल्ला फैलाइए पनि अब निर्धारित समयमै चुनाव हुने स्पष्ट भएको प्रचण्डको भनाइ थियो ।