Logo

समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार: अध्यक्ष ओली



काठमाडौँ, २२ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’मा उनले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताएका हुन् ।

“सत्तापक्षले संसद्मा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उनले भने ।

अध्यक्ष ओलीले भारतलाई विवादमा पार्न नहुने स्पष्ट पारेका थिए । उनले भने, “मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत त्यस्तो कुरा भन्दैन भनेको पनि छैन ।”

ललिता निवास प्रकरणमा जो-जो दोषी छन् तिनलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, “ललिता निवास प्रकरणमा को-को दोषी छन्, छानबिन गरे हुन्छ । त्यो कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।”

अहिले पनि सङ्घर्षको आवश्यकता नटरेको उल्लेख गर्दै उनले भने, “नचाहेर पनि हामीमाथि दमन हुन्छ र हामी त्यसको प्रतिवादमा उत्रिनुपर्छ ।”

अध्यक्ष ओलीले लोकतन्त्रका नाममा अराजक, हिंसात्मक क्रियाकलाप भइरहेको उल्लेख गर्दै एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने बताए । उनले देशलाई अलमल पार्नका लागि अनेक खालका भ्रम फिजाइएको उल्लेख गर्दै त्यो भ्रमका विरुद्ध एमाले सशक्त भएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

नेपालको सामाजिक परिवर्तनमा विद्यार्थीको भूमिका असाधारण रहेको भन्दै उनले देशमा न्याय, समृद्धि विकास, शिक्षा र विकास सबै कुराका लागि विद्यार्थीले ज्यान दिएको बताए ।

नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनी राज नभएकाले मुलुक संविधान र कानुनअनुसार चल्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले दुई-दुई वर्षसम्म किन संवैधानिक परिषद्को बैठक भन्दै न्यायलयमाथि खेलवाड गरिएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्