काभ्रेपलाञ्चोक, १४ साउन । नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् ।
उनले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए ।
“मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ”, उनले भने । उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरेका छन् ।
नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रुपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गरे । “समाजवादी पार्टी समाजको अगुवा क्रान्तिकारी पार्टी हो, यथास्थितिवादीलाई निमिट्यान्न पारी समाजवाद स्थापना गर्नु नै यो पार्टीको उद्देश्य हो”, उनले भने ।







