काठमाडौँ, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न गरेको छ ।
मेचीदेखि सुरु गरेको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न गरेको हो । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा अभियानले पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न राजनीतिक गतिविधि, सभा, सम्मेलन गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीका नीति सिद्धान्त, कार्यदिशा जनतालाई बुझाउन यही असोज १४ गतेदेखि सञ्चालन गरिएको अभियान आइतवार सम्पन्न गरिएको हो । राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था, बेरोजगारी समस्या, गरिबी न्यूनीकरणका लागि पार्टीका योजना, देश विकासमा जनताको दृष्टिकोण, अनुभव तथा सुझाव सङ्कलन गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुगेर अभियान गरिएको थियो ।
खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, नेपालको खनिज पदार्थको दोहन बन्द गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नेबारे जनतालाई जागरण फैलाइएको थियो । अभियानअन्तर्गत राजनीतिक, सामाजिक सुरक्षाका विषयमा पनि सुझाव सङ्कलन गरिएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेताले सम्बोधन गरेको अभियानमा ५५ वटा ठूला आमसभा गरिएका छन् । अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी करिब दश हजार नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको जनाइएको छ ।
अभियानमा आयोजित सभामा स्थानीय झाँकी, जनवादी गीत-संगीत, स्वास्थ्य शिविर संचालन गरिएको थियो । समावादी पार्टीका नेता कार्यकर्ता अभियानले नेता कार्यकर्तामा उर्जा पैदा गरेको बताउँछन् ।
अभियानमा विकृति विसङ्गतिको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, कालाबजारी बन्द गरी बढ्दो महँगी नियन्त्रण गर्न जनस्तरबाट सुझाव आएको छ ।
काकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्ता, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीवास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, हेटौँडा, चितवन, कावासोती, बर्दघाट, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुर, बर्दिया, राजापुर, कैलाली, पुनर्वास, धनगढी, महेन्द्रनगर, सुर्खेतलगायत स्थानमा राजनीतिक सभा, कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा सम्पन्न भएका छ्न् ।
हेर्नुहोस् तस्बिर

















