कैलाली, २५ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन् । उनले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए ।
सो पार्टी निकट युवा सङ्गठन नेपालद्वारा शनिवार धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताए ।
उनले भने,“माओवादी मिल्नुपर्छ भन्ने झुपडी-झुपडी र घर-घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ ।”
समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्ने बताए ।
“जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्”, उनले भने, “हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन”, उनले भने, “हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ-सात करोड मान्छेलाई खान पुग्छ ।”