Logo

‘समाज सेवामा सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ’



काठमाडौँ, ५ असार । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उनले भने । उनले समाजभित्र देखिने विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घच्घच्याउनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताए । सामाजिक सङ्घसंस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको उनको भनाइ थियो ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घसंस्थाले नजिक बनाएको बताए । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्