मेचीनगर, ३ फागुन । धुलाबारी जेसीजले सरस्वती पुजाको अवसर पारेर समाज सेवा सुधार युवा संघ इटाभट्टामा सरस्वती माताको मुर्ति स्थापना साथै खाद्यान्न सहयोग गरेको छ ।
जेसीजले दुई बोरा चामल, चिनी, दुध, साबुन, तेल र बालबालिकाहरुलाई ट्रक्क सुट, ब्याग, प्यान्ट, फरक क्षमता भएका बालबालिकाहरूलाई ट्राइ साइकल र स्टेसनरी सामग्रीहरु प्रदान गरेको हो ।
धुलाबारी जेसीजका अध्यक्ष मन्जिल रसाइलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.७ का वडाध्यक्ष प्रलहादमणि ओली, समाज सेवा सुधार युवा संघका संस्थापक अध्यक्ष धर्मराज घिमिरे मेचीनगर नगरपालिका वडा नं.१० वडाध्यक्ष नारायण खनाल लगायतको उपस्थिति रहेको सहसचिव सचेत घिमिरेले जानकारी दिए ।
कार्यक्रम संयोजक कृष्ण ढकालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जेसी शिशिर पोखरेलले गरेका थिए ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्ने अभिभारलाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष मन्जिल रसाइलीले बताए ।






