Logo

समानुपातिकको सूची सच्याउन एमालेलाई दोस्रो पत्र पठाइने



काठमाडौँ, २७ मंसिर । निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुन: पत्राचार गर्ने भएको छ ।

मङ्सिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा हिजो एमालेले पुन: त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले यसअघि बुझाएको बन्दसूचीमा फेरबदल गरी बुझाए पनि एमालेले पुरानै सूचीलाई निरन्तरता दिएको हो । यसबारेमा आयोगले हिजो बेलुका छलफल गरेको छ । छलफलका आधारमा आज पत्र पठाउने तयारी भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले एमालेले आज निर्धारित समयभित्र त्रुटि सच्याएर नपठाए अन्य दलको उम्मेदवारलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र दिने तयारीसमेत गरेको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने त्रुटि सच्याएर पुन: उम्मेदवार छनोट गरी पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्