Logo

समानुपातिकतर्फको उम्मेदवारी दल दर्ता आजदेखि



काठमाडौँ, १० भदौ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले शुक्रबारदेखि निवेदन दर्ता गराउँदैछन् ।

निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको बताए ।

आयोगले गत साउन २२ देखि ३१ गते सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए । दर्ता भएका दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुनेगरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग-अलग रूपमा निवेदन दिन पाउने छन् । दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेशसभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्