काठमाडौं, २६ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोग नेपालका अनुसार आज बिहान ७: ३० बजेसम्म एक करोड दुई लाख ९० हजार ५४६ मत गणना भइसकेको छ।
हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायम राखेको छ। रास्वपाले ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख ७३ हजार ९८२ मत पाएको छ भने तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १३ लाख ८९ हजार ८२० मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी चौथो स्थानमा रहेको छ। उक्त पार्टीले ७ लाख ५२ हजार ९४६ मत प्राप्त गरेको छ। पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टी ले ३ लाख ४७ हजार ७८५ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २२ हजार ४७२ मत प्राप्त गरेको छ।
यसैबीच प्रत्यक्षतर्फ भने सबै १६५ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दै पहिलो स्थान हासिल गरेको छ। त्यसपछि कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ र एक स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन्।







