Logo

समानुपातिक सूची टुंग्याउन प्रमुख दलहरूको बैठक आज



काठमाडौं, १ चैत्र। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूची टुंग्याउन आज प्रमुख राजनीतिक दलहरूले बैठक बस्दै छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची तय गर्न बैठक बोलाइएको हो। बैठकले सूची टुंग्याएपछि निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए। सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था प्रतिकूल भएपछि शनिबारका लागि बोलाइएको बैठक आइतबारका लागि सारिएको थियो।

रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।

यस्तै, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आइतबार बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले समानुपातिक बन्दसूचीबाट प्राप्त सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ।

त्यसैगरी, नेकपाले पनि प्रतिनिधिसभाको समानुपातिक सूची आइतबार टुंगो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र नाम टुंग्याउन पत्र पठाएपछि पार्टीले बैठक बसेर अन्तिम सूची तय गर्ने तयारी गरेको हो। नेकपाले प्रत्यक्षतर्फ आठ सिट र समानुपातिकतर्फ नौ सिट प्राप्त गरेको छ।

नेकपा कार्यालयका सचिव गोविन्द आचार्यका अनुसार समानुपातिक सांसद हुने नाम आइतबार बैठकमार्फत टुंगो लगाइनेछ।

यसअघि एमालेले आफ्नो भागमा परेका १६ जनाको नाम सिफारिस गरिसकेको छ भने श्रम संस्कृति पार्टीले पनि चार जनाको नाम निर्वाचन आयोगमा पठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्