Logo

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्छ: अध्यक्ष ओली



काठमाडौँ, २७ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन् ।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औँ स्थायी कमिटी तथा एसिया-युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकमा अध्यक्ष ओलीले राजनीतिको आदर्श र राजनीतिक दलहरु साँघुरो समूह-सोचबाट निर्देशित हुँदा मानवता प्रताडित हुने भएकाले त्यस साँघुरोपनाबाट बाहिर निस्कनुपर्ने बताएका हुन् ।

“असहिष्णुताले अन्याय जन्माउँछ । सम्पूर्ण मानवलाई नै अन्याय, द्वन्द्व र कठोरतातर्फ उद्वेलित गराउँछ । त्यसैले हामी राजनीतिक स्थायित्व हासिल गर्दै समृद्धिको याात्रामा अघि बढ्नुको विकल्प छैन”, अध्यक्ष ओलीले भने, “प्रकृति र वातावरण संरक्षण गर्दै साझा र दिगो उन्नति हासिल गर्न सबै राजनीतिक दललाई आग्रह गर्दछु ।”

अध्यक्षले ओलीले हरेक नागरिकका लागि समान अवसर, न्यायमा पहुँच सुनिश्चित गर्ने सपनालाई कार्यरुप प्रदान गर्न राजनीतिक दलहरु मुख्य साधन हुने भएकाले राजनीतिक दलको भूमिकालाई कमजोर ठान्न नहुने विचार व्यक्त गरेका थिए ।

भोलि सम्पन्न हुने उक्त बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवं आइक्यापका स्थायी कमिटी सदस्य राजन भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्