रुस, ८ साउन । अन्न निर्यात गर्न पाउनेबारे रुस र युक्रेनले महत्त्वपूर्ण सम्झौता गरेको एक दिनपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण गरेको छ ।
पश्चिमी सहर ओडेसामा रुसले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको सेनाले जनाएको छ । युक्रेनी हवाई सुरक्षाका प्रमुखले बन्दरगाहका अन्न भण्डारलाई नियतवश निसाना बनाइएको आरोप लगाएका बीबीसीले जनाएको छ ।
युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जुजेप बोरेलले यो आक्रमणले रुसले अन्तर्राष्ट्रिय कानुनलाई पूरै बेवास्ता गरेको देखिएको टिप्पणी गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि आक्रमणको निन्दा गरी सम्झौताको कार्यान्वयन निकै महत्त्वपूर्ण हुनेमा जोड दिएका छन् ।
यसअघि रुस र युक्रेनबीच भएको सम्झौताको सर्तमा अन्न निर्यातको काम हुँदा बन्दरगाहलाई निसाना नबनाइने विषय उल्लेख छ । महिनौँको युद्धपछि भएको यो सम्झौतालाई संयुक्त राष्ट्र सङ्घले एउटा आशाको किरणका रुपमा लिएको थियो ।