काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर नतिरेका १७ संस्थालाई १० दिनभित्र बुझाउन ताकेता गरेको छ।
महानगरले आज ती संस्थाहरूलाई पत्र लेखेर १० दिनभित्र सम्पत्ति कर र हालसम्मको जरिवाना बुझाउन निर्देशन दिएको हो ।
पटक पटक ताकेता गर्दा पनि ती संस्थाहरूले कर नबुझाएको महानगरपालिका कार्यालयले जनाएको छ । तोकिएको म्यादभित्र कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिने राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।
महानगरले खाद्य संस्थान, ह्वाइट फिल्ड स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्श, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, सिविक हस्पिटल प्रालि र डेन्टल कलेजलाई कर तिर्न पत्र लेखेको हो ।






