काठमाडौँ, १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेर सम्पर्क विहीन भएको तारा एयरको विमान खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । पोखराबाट हेलिकोप्टर अहिले जोमसोमतर्फ गइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। विमान अवतरण गर्ने समय भैसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रेम नाथ ठाकुरले जानकारी दिए।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने, ‘सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा छ ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको अनलाइनखबरलाई बताएका छन् ।
सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।