काठमाडौँ, १० भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी सङ्गठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भने, “पछिल्लो समय सरकारले गरेका कामबाट एकथरी व्यक्ति विक्षिप्त भएका छन् । उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ ।” प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गरेका थिए ।







