काठमाडौँ, २१ असोज । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् संसद राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
व्यक्ति हत्याजस्तो अपराधमा संलग्नलाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपालीको मन रोएको उनको भनाइ थियो ।
आइतवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महँगी नियन्त्रण, विकास खर्च, देशको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् ।
उनले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गरेका थिए ।
उनले भने, ‘सङ्घीयतालाई कमजोर बनाउने गतिविधि अहिले पनि भइरहेको छ । व्यक्ति हत्यामा संलग्नलाई आममाफी दिएर धेरै जनता रुवाउने काम हामीले गरिरहेका छौँ । अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिइरहेका छैनौँ । विकास खर्च सयममै जति हुनुपर्ने हो, त्यति हुन सकिरहेको छैन । महँगी बढेको छ, नियन्त्रण गर्न सकिराखेका छैनौँ । यस्ता खालको कुराहरूमा विशेष ध्यान पुर्याउन जरुरी छ ।’






